श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्यहरूलाई परस्पर सहयोग गर्दै विभिन्न कारोबारहरू मार्फत् आर्थिक, सामाजिक र सांस्कृतिक जीवन रूपान्तरण गरी आवश्यकताहरू पूरा गर्न सक्षम बनाउने उद्देश्यका साथ स्थापना गरिएको हो। सदस्यहरूको सन्तुष्टि नै संस्थाको प्रमुख चाहना हो। सहकारीका रूपमा हामी सामूहिक प्रयासमा विश्वास गर्दछौं र सोही अनुसार सहकारीका सिद्धान्त, मूल्य र मान्यताअनुसार सदस्यहरूलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएका छौं। समयमै सदस्यहरूको आवश्यकता पुरा गर्न हामी निरन्तर रूपमा नवीनतम प्रविधिको प्रयोग गरी सेवा उपलब्ध गराइरहेका छौं।
त्यसैगरी, समुदायमा सामाजिक क्रियाकलाप तथा सेवा मूलक कार्यक्रम सञ्चालन गर्नु हाम्रो नियमित जिम्मेवारी र कर्तव्य हो। यसकै परिणामस्वरूप, हामी स्थानिय स्तरमा एक भरपर्दो र विश्वासिलो संस्थाको रूपमा स्थापित भएका छौं र काभ्रेपलाञ्चोक जिल्लाको एक सबल र संस्थाको रूपमा आफूलाई महसुस गरेका छौं। यद्यपि हालको अवस्थामा सहकारी क्षेत्र केही चुनौतीपूर्ण परिस्थितिहरूबाट गुज्रिरहेको छ, सदस्यहरूको अविचलित प्रेम, विश्वास र भरोसाले हामीलाई थप उत्साहित बनाइरहेको छ।
"उत्कृष्ट र दिगो सहकारी संस्था" बन्ने हाम्रो दृष्टिकोणलाई यथार्थमा रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं र यसका लागि गरिएका प्रयासहरू हाम्रो दृढ संकल्पको प्रतीक हुन्। हामीले अंगीकार गरेका नीति र रणनीतिअनुसार हाम्रा योजना तथा कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सदस्यहरूलाई आ–आफ्नो तहबाट योगदान पुर्याउन हार्दिक अनुरोध गर्दछौं। सहकारी सिद्धान्त, मूल्य र मान्यताका आधारमा, नीतिहरू, प्रक्रिया र प्रविधिको अधिकतम उपयोग गर्दै, सदस्यहरूको सर्वोपरि हितलाई प्राथमिकतामा राखी संस्थाको सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्ने हाम्रो प्रतिवद्धता छ।
हामी सदस्यहरूलाई सुरक्षित र भरपर्दो वातावरणमा निडर भएर बचत तथा ऋण कारोबार गर्न अनुरोध गर्दछौं। तपाईँहरूको बचतको पूर्ण सुरक्षाको जिम्मेवारी संस्था लिन्छ र हामी यस जिम्मेवारीलाई पूरा गर्न पूर्ण सक्षम र आत्मविश्वासी छौं। यस अवधिमा संस्था एक सबल र सुरक्षित वित्तीय संस्थाको रूपमा सदस्यहरूले विश्वासका साथ बचत तथा ऋण कारोबार गर्न सक्ने भरपर्दो विकल्प बन्न सफल भएको छ। वित्तीय सेवा प्रदायकको रूपमा संस्थालाई सदस्यहरूको पहिलो रोजाइ बनाउन हामी सदस्य सन्तुष्टि र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नीति, व्यवस्थापन र कार्यान्वयन प्रक्रिया विकास गर्दैछौं।
अन्त्यमा, सधैं साथ दिनुहुने सदस्यहरू, छाता संघहरू, महासंघ तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं र भविष्यमा पनि यस्तै बहुमूल्य सुझाव, सल्लाह तथा सहकार्यको अपेक्षा गर्दछौं।